आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार ०९:५०
 आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद

धनकुटा । कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकमा लुकाई छिपाइ लैजाँदै गरिएको ७७५ किलो गाँजासहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले नियमित जाँचका क्रममा को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकको डालाभित्र आलुको बोराले छोपेर लुकाइएको अवस्थामा कालो प्लास्टिकले बेरिएका गाँजाका प्याकेटहरू फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा ट्रक चालक ३३ वर्षीय परीक्षण कुँवर रहेका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–१ घर भएका कुँवर हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१, आँपगाछीमा बस्दै आएका थिए ।

बरामद गरिएको गाँजा, ट्रक र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटाले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको हो भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.