
विराटनगर । विराटनगरका स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तनका मुद्दामा सशक्त बनाउने उद्देश्यका साथ ‘विराटनगर जलवायु सिकाइ गोष्ठी २०२६’ सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलेन्टियर विराटनगरको संयुक्त आयोजनामा एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै आगामी दिनमा जलवायु संकटको सामना गर्न र नीतिगत परिवर्तनका लागि युवाहरूको भूमिका निर्णायक हुने बताए । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयंसेवक र स्थानीय युवा अभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
गोष्ठीको पहिलो प्राविधिक सत्रमा ‘क्लाइमेट रिस्क एन्ड रेजिलेन्स ल्याब’ का विज्ञ विनोद पराजुलीले ‘प्रमाणदेखि प्रभावसम्म: तथ्यांक, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण’ विषयमा प्रस्तुतीकरण दिएका थिए । उनले जलवायु परिवर्तनका जटिल शब्दावली र तथ्यहरूलाई खेल तथा सामूहिक छलफलका माध्यमबाट प्रयोगात्मक रूपमा बुझाएका थिए । जसले सहभागीहरूलाई विषयवस्तु सजिलै आत्मसाथ गर्न मद्दत पुर्याएको थियो ।
त्यसैगरी, दोस्रो सत्रमा हरिन नेपालकी अभियन्ता एवं अधिवक्ता तनुजा पाण्डेले ‘सडकको संगठन, हाम्रो भविष्यको पुनः प्राप्ति, जलवायु न्यायको अग्रपङ्क्तिमा लड्न नेपालका युवाहरूको परिचालन’ विषयमा आफ्नो अनुभव सुनाइन् । उनले चर्चित ‘सेभ निजगढ’ आन्दोलनको उदाहरण दिँदै भुइँतहको वास्तविकता, प्रणालीगत चुनौती र सफल अभियान कसरी निर्माण गर्ने भन्नेबारे सहभागीहरूलाई प्रशिक्षित गरिन् ।
कार्यक्रमको अन्तिम चरणमा सहभागी युवाहरू तीन वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाका तयार पारेका थिए । आयोजकका अनुसार युवाहरूले तयार पारेका यी उत्कृष्ट अभियानहरूलाई आगामी दिनमा कार्यान्वयन गर्नका लागि प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराइने छ ।
यस पहलले युवा र बालबालिकालाई एकताबद्ध गरी जलवायु न्यायको मुद्दामा स्थानीय स्तरबाटै सशक्त दबाब सिर्जना गर्ने र ठोस परिवर्तन ल्याउने विश्वास आयोजकले लिएका छन् ।

























