
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।
दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो ।
प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।



















