
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूसँग अवैध रूपमा रकम असुल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सवारी साधनका चालकहरूसँग अवैध रूपमा रकम असुल्ने गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१५ का ६७ वर्षीय नरेन्द्र थापा र विराटनगर- सञ्जय केवटलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
विराटनगर–१५ स्थित २ नम्बर ढाट नजिकै रहेको यात्री सहायता शाखामा बसेर भारतीय नम्बर प्लेटका सवारी चालकहरूलाई दबाबमा पारी गैरकानुनी रूपमा रकम लिने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको डीएसपी मिश्रले बताए ।
प्रहरीका अनुसार उनीहरूले सवारी चालकहरूलाई अनावश्यक दबाब र प्रभावमा पारेर आर्थिक लाभ लिने गरेका थिए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















