
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरूको अन्तिम सूचीमा हेरफेर गर्दै सच्याएको छ । चितवनको भरतपुरमा गत असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनको मत परिणाम घोषणामा प्राविधिक त्रुटि देखिएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूची सच्याएको हो ।
भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार, यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भनिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम सूचीबाट हटाइएको छ। उनीहरूको स्थानमा अब ध्रुवकुमार थापा मगर र पूजा बास्तोला केन्द्रीय सदस्य चयन भएका छन् ।
आयोगका अनुसार निर्वाचन कार्यविधिअनुसार कलस्टर र भूगोलतर्फको मत गणना र उम्मेदवारी दर्ताका क्रममा पेस गरिएका कागजातहरूको पुनः अध्ययन गर्दा पहिलेको नतिजामा त्रुटि भेटिएको हो ।
जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उम्मेदवारी दर्ताका प्रमाण र प्राप्त मत परिणामको सूक्ष्म अध्ययन गर्दा ध्रुवकुमार थापा मगर निर्वाचित हुनुपर्ने देखिएकाले उनलाई आधिकारिक रूपमा निर्वाचित घोषणा गरिएको छ।
गण्डकी प्रदेशको भूगोलतर्फको नतिजामा पनि फेरबदल भएको छ । पहिले सोम शर्मा निर्वाचित भएको भनिए पनि प्राप्त मतको अन्तिम विश्लेषण गर्दा पूजा बास्तोलाले बढी मत प्राप्त गरेको देखिएकाले उनलाई निर्वाचित घोषणा गर्ने निर्णय आयोगले गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले ‘निर्वाचन कार्यविधि २०८३’ र प्राप्त प्रमाणहरूलाई आधार मानी यो प्राविधिक त्रुटि सच्याइएको स्पष्ट पारेको छ । पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै कार्यसमितिलाई पूर्णता दिने प्रक्रियामा यो सुधार गरिएको हो।



















