
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणकाे निवेदनमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने तय भएको छ ।
पदमा रहँदा गैरकानुनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति आर्जन गरेको (सम्पत्ति शुद्धीकरण) अभियोगमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत साता पक्राउ गरेको थियो । विशेष अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि, उक्त कार्य गैरकानुनी रहेको जिकिर गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो ।
पौडेलमाथि सार्वजनिक पदको दुरुपयोग गरी अवैध रूपमा धन आर्जन गरेको गम्भीर आरोप लागेको छ। आजको सुनुवाइले उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा रिहा गर्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिन सक्नेछ।



















