
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको १०६औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले मनमोहन अधिकारीको त्याग, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र शिक्षाप्रतिको दृष्टिकोण आज पनि अनुकरणीय रहेको बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, राजनीतिकर्मी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो । उनीहरूले मनमोहनको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानप्रति सम्मान व्यक्त गरे ।
विश्वविद्यालय संरक्षण समिति सदस्य तथा पूर्वसहकुलपति जीवन घिमिरेले मनमोहन अधिकारीको राजनीतिक संघर्ष र दूरदर्शी सोचकै कारण प्रदेशमा प्राविधिक शिक्षाको विकासले गति लिएको बताए । उनका अनुसार मनमोहन शिक्षालयबाट सुरु भएको अभियान कानुनी प्रक्रियामार्फत विकसित हुँदै देशकै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनासम्म आइपुगेको हो । उनले लोकतन्त्र, शिक्षा र समृद्धिको यात्रामा मनमोहनको योगदान ऐतिहासिक रहेको उल्लेख गरे।
कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले मनमोहन कुनै एक राजनीतिक दलको सीमित नेता नभई सम्पूर्ण नेपालीका लागि अनुशासन, सादगी र आदर्शको प्रतीक भएको बताए । उनले नयाँ पुस्ताले उनको जीवनबाट प्रेरणा लिनुपर्ने धारणा राखे ।
पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य विनोद ढकालले प्रजातान्त्रिक आन्दोलनमा मनमोहनले खेलेको भूमिकाको स्मरण गर्दै त्यही संघर्षको जगमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताए । राजनीतिज्ञ महेश रेग्मीले मनमोहनलाई त्याग, इमानदारी र सामाजिक न्यायका पक्षधर नेताका रूपमा स्मरण गर्दै शिक्षा र समाज रूपान्तरणमा उनले देखाएको नेतृत्व आज पनि सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, रजिष्ट्रार डा.( किशोर अधिकारी, डिन डा. रेखा श्रेष्ठ, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, राजन केसी, मुकेश उपाध्यायलगायतले प्रतिमामा माल्यार्पण गरेका थिए । सो अवसरमा मनमोहन पोलिटेक्निकका उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
यसैबीच विश्वविद्यालयले वातावरण संरक्षणलाई व्यवहारसँग जोड्ने उद्देश्यले ‘विरुवा गोद’ अभियान सञ्चालन गर्दै सामूहिक वृक्षारोपण गरेको छ । स्कुल अफ इन्जिनियरिङ संकायको आयोजनामा करिब दुई सय बिरुवा रोपिएको थियो ।
रोपिएका प्रत्येक बिरुवा अतिथि, पदाधिकारी तथा कर्मचारीलाई व्यक्तिगत जिम्मेवारीसहित गोद दिइएको छ । उनीहरूले आफ्नो नाममा रहेको बिरुवाको नियमित हेरचाह, मलजल र संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको डिन कार्यालयका प्रशासन प्रमुख महेश राईले जानकारी दिए । बिरुवा हुर्किएपछि त्यसमा गोद लिने (जिम्मा लिने) व्यक्तिको नामसमेत राखिनेछ ।
विश्वविद्यालयका अनुसार प्रत्येक वर्ष वृक्षारोपण हुने भए पनि रोपिएका बिरुवाको संरक्षणमा अपेक्षित ध्यान नपुग्ने समस्या रहेकाले यसपटक जिम्मेवारी र अपनत्व बढाउने उद्देश्यले ‘गोद लिएर वृक्षारोपण’ अभियान सुरु गरिएको हो ।

























