मौद्रिक नीतिपछि नेप्सेमा दबाब, लगानीकर्ताको निराशाले ३० अंकको गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १६:१३

काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २६२१ बिन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन २४ अंकले उकालो लागेको बजार बधुबार भने दिनभरजसो रातो रह्यो । कारोबार रकम भने बढ्दै ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी हो ।

२५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको घट्यो र पाँच कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङदेखि जलविद्युत्सम्म अधिकांश समूहगत सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी प्रभाव जलविद्युत् क्षेत्रमा परेको देखिएको छ । जहाँ सूचक १.७० प्रतिशतले घटेको छ ।

स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, सानीगढ हाइड्रो र सपोर्ट माइक्रोफाइनान्समा उल्लेख्य गिरावट देखियो । कारोबारका आधारमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो र सिटी होटल अग्रस्थानमा रहे ।

बजारमा आएको गिरावटको प्रमुख कारण मौद्रिक नीतिमा समावेश गरिएको सेयर धितो कर्जाको सीमा संस्थाको वित्तीय सबलताका आधारमा निर्धारण गरिने व्यवस्था रहेको विश्लेषण गरिएको छ । यसले विशेष गरी वित्तीय आधार कमजोर तर बजार मूल्य उच्च रहेका कम्पनीहरूमा दबाब बढाएको छ ।

लगानीकर्ताले अपेक्षा गरेअनुसार व्यापक र प्रोत्साहनमुखी व्यवस्था नआएको अनुभूति तथा असार मसान्तमा बैंकको किस्ता भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाउनु पनि बजार घट्नुको सहायक कारण मानिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.