विराटनगरमा फोटो स्टुडियोबाटै नक्कली नागरिकताको कारोबार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १८:००

विराटनगर । मजदुरी गरेर दुई सन्तान पालिरहेकी एकल महिला मनिषा कामतका लागि नागरिकता बनाउनु ठूलो सपना थियो । तर, सरकारी प्रक्रियाको अज्ञानताका कारण उनी एउटा यस्तो गिरोहको फन्दामा परिन्, जसले महेन्द्र चोककै एउटा फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्यालय’ का रूपमा प्रयोग गरेर नागरिकता दियाे ।

नागरिकता बनाइदिने बहानामा विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठले मनिषासँग १ लाख ३० हजार रुपैयाँ लिए । अरूको घरमा काम गरेर जम्मा गरेको रकम, फोटो र आवश्यक कागजात मनिषाले महेन्द्र चोक पुगेर श्रेष्ठलाई बुझाइन् । विवरण बुझाएको मात्र तीन दिनपछि श्रेष्ठले उनलाई नागरिकता थमाए।

३० वर्षीया मनिषा आफू र आफ्नो मामाको नागरिकता बनेकोमा दंग थिइन् । तर, उनको त्यो खुसी राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुग्दा टुट्याे ।

प्रशासनका कर्मचारीले नागरिकता ‘नक्कली’ भएको बताएपछि मनिषाले पत्याउनै सकिनन् । उनले उल्टै कर्मचारीलाई प्रश्न गरिन्, ‘तपाईंहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ मनिषा र कर्मचारीबीचको यो सवाल–जवाफ भइरहँदा कार्यालयको निरीक्षणमा रहेका मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेल त्यहाँ आइपुगे ।

प्रजिअ कटेलले जाँच पछि त्यो नक्कली भएको बताए । वर्षौँको दुःख र ठूलो रकम खर्चिएर बनाएको नागरिकता नक्कली भएको थाहा पाएपछि उनी छाँगाबाट खसेझैँ भइन् ।

घटनाको गम्भीरतालाई बुझेर प्रजिअ कटेलले तत्कालै प्रहरी टोली परिचालन गरे । प्रहरीले केही बेरमै मुख्य अभियुक्त अशोककुमार श्रेष्ठलाई नियन्त्रणमा लियो । खानतलासी गर्दा उनको साथबाट थप १० थान नक्कली नागरिकता फेला परे ।

श्रेष्ठको साथबाट बरामद गरिएका नागरिकताहरूमा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप र जारी गर्ने अधिकृतको हस्ताक्षर यति दुरुस्त थियो कि सर्वसाधारणले सक्कली र नक्कली ठम्याउनै सक्दैनथे । ती नागरिकताहरूमा वि.सं. २०६८ देखि २०८२ सम्मको मिति राखिएको छ । जसमा हाल कार्यरत र सरुवा भइसकेका अधिकृतहरूको हस्ताक्षर समेत प्रयोग गरिएको छ । उनको साथबाट जन्मदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्रका थुप्रै सरकारी फारम र वडाको नक्कली सिफारिस पत्रहरू समेत बरामद भएका छन् ।

अनुसन्धानका क्रममा यो धन्दामा विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशीको संलग्नता खुलेको छ । उनी पनि पक्राउ परेका छन् । राजवंशीले महेन्द्र चोकमा ६–७ वर्षदेखि ‘न्यू डोली फोटो सर्भिसेज’ सञ्चालन गर्दै आएका छन् । श्रेष्ठ र राजवंशीले सोही स्टुडियोलाई नक्कली नागरिकता डिजाइन गर्ने र छाप्ने अखडा बनाएको प्रारम्भिक अनुसन्धानले प्रशासन स्राेत बताउँछ ।

सुरुमा आफूलाई निर्दोष दाबी गरेका राजवंशीले पछि अशोकले ल्याएका विवरणका आधारमा १०–११ वटा नागरिकता प्रिन्ट गरिदिएको स्वीकार गरेका छन् । प्रहरीले उनको स्टुडियोमा छापा मारी महत्त्वपूर्ण उपकरण र कागजातहरू नियन्त्रणमा लिएको छ ।

मोरङका प्रजिअ युवराज कटेलले यो एउटा संगठित अपराध भएको बताएका छन् । ‘होलोग्राम, हस्ताक्षर र लेमिनेसन समेत दुरुस्त बनाएर सोझा जनतालाई ठग्नु गम्भीर अपराध हो,’ प्रजिअ कटेलले भने, ‘यसमा संलग्नहरूलाई कुनै पनि हालतमा छोडिने छैन, कडा कानुनी कारबाही हुनेछ ।’

बुधबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालयले नक्कली नागरिकता र बरामद दसीसहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.