
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ ।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ ।
त्यसैगरी ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्ले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि स्वीकृत गरेको छ ।



















