जेडेन एडम्स मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १०:३९
जेडेन एडम्स मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौं । दक्षिण अफ्रिकालाई विश्वकप फुटबलको नकआउट चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका २५ वर्षीय मिडफिल्डर जेडेन एडम्सको शंकास्पद अवस्थामा निधन भएको छ । केप टाउनस्थित स्कोट्चे क्लोफको एक घरमा शनिबार बिहान एडम्सको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

दक्षिण अफ्रिकाले ऐतिहासिक रूपमा विश्वकपको नकआउट चरणमा स्थान बनाएको दुई हप्ता नबित्दै भएको यो घटनाले खेलकुद क्षेत्रलाई स्तब्ध बनाएको छ । केप टाउन केन्द्रीय प्रहरीका अनुसार शनिबार बिहान ११ बजे शव फेला परेको जानकारी आए लगत्तै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको हो । हालसम्म उनको मृत्युको स्पष्ट कारण खुल्न सकेको छैन ।

एडम्सका बुबा जुआनिटो एडम्सले छोराको असामयिक निधनले परिवार सम्हालिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले भने, ‘यो हाम्रो लागि निकै कठिन समय हो । हामी अहिले पोस्टमार्टमको नतिजा पर्खिरहेका छौँ । यस्तो क्षतिसँग बाँच्न सिक्नु बाहेक हामीसँग अर्को विकल्प छैन ।’ परिवारले हालसम्म अन्त्येष्टिको कुनै योजना नबनाएको उनले जानकारी दिए ।

विश्वकपको समूह चरणका तीन वटै खेलमा एडम्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, जुन २८ मा क्यानडाविरुद्ध भएको राउन्ड अफ ३२ को खेलमा भने उनी टोलीमा सहभागी थिएनन् ।

दक्षिण अफ्रिकाका खेलकुद मन्त्री गेटन म्याकेन्जीले एडम्सको निधनप्रति दुःख व्यक्त गर्दै उनको साहसको प्रशंसा गरेका छन् । एडम्सले आफ्नी हजुरआमाको निधन भएको केही घण्टाभित्रै चेक रिपब्लिकविरुद्धको खेल खेलेर देशप्रतिको समर्पण देखाएको मन्त्री म्याकेन्जीले स्मरण गरे । उनले अनुसन्धान जारी रहेकाले मृत्युको कारणबारे कुनै पनि अनुमान नगर्न र संयम अपनाउन सबैमा आग्रह गरेका छन् ।

एडम्सको सम्मानमा शनिबार सम्पन्न नर्वे र इंग्ल्याण्ड तथा स्विट्जरल्याण्ड र अर्जेन्टिनाबिचका विश्वकप क्वार्टर फाइनल खेलहरू सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो । दक्षिण अफ्रिकाको फुटबल इतिहासमा महत्त्वपूर्ण योगदान दिएका यी युवा खेलाडीको निधनलाई राष्ट्रिय क्षतिका रूपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.