अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार ०८:१६
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार

काठमाडौं । काठमाडौंको नारायण चौरबाट अनलाइन सट्टेबाजी (जुवा) खेलाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीले काठमाडौं महानगरपालिका–१ नारायण चौरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी र अजय महतरा तथा बाँकेका आदित्य वाल्मीकि रहेका छन्।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उनीहरूले विभिन्न सट्टेबाजी एप तथा वेबसाइटहरूको प्रयोग गरी अवैध रूपमा अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग हुने इन्टरनेट सर्भर, ठुलो संख्यामा सिम कार्ड, ल्यापटप र मोबाइल फोनहरू समेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले मोबाइल बैंकिङमार्फत ठुलो रकम परिचालन गरेको खुलेको छ। प्रहरीका अनुसार उनीहरूले हालसम्म १ करोड ९६ लाख ३ हजार ५१९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रविधिको प्रयोग गरी अनलाइनमार्फत हुने अवैध सट्टेबाजीका गतिविधि बढेपछि प्रहरीले निगरानी र सक्रियता बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×