सामाजिक सुरक्षा भत्ता हिनामिना : ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ०८:०१

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा हिनामिना गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गाउँपालिकाको वडा नम्बर ३, मत्सरीमा आर्थिक वर्ष २०७४–७५ देखि २०८१–८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कानुनविपरीत लाभग्राही कायम गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको हो । अनुसन्धानबाट ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता अनियमित रूपमा वितरण भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको छ ।

Advertisement

मुद्दाका मुख्य प्रतिवादीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर, वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरी रहेका छन् । उनीहरूसँगै झुटा विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता लिएको आरोप लागेका ३९ जना सेवाग्राहीलाई पनि प्रतिवादी बनाइएको छ ।

अनुसन्धानका क्रममा सामाजिक सुरक्षा भत्ता पाउन अयोग्य व्यक्तिलाई योग्य देखाएर वृद्धभत्ता, एकल महिला तथा विधवा भत्तालगायतका सुविधा उपलब्ध गराइएको खुलेको आयोगले जनाएको छ । लाभग्राहीको विवरणमा गलत अभिलेख तयार पार्ने, नक्कली कागजातका आधारमा नाम समावेश गर्ने, एउटै व्यक्तिलाई विभिन्न शीर्षकबाट भत्ता उपलब्ध गराउने तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुटा विवरण अद्यावधिक गरी रकम निकासा गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र वडा सचिवसँग ३२ लाख २४ हजार १ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको माग गरेको छ । त्यसैगरी गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता लिएका ३९ जना सेवाग्राहीबाट समेत प्राप्त रकम असुल गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×