
विराटनगर । मोरङको रंगेलीमा १० महिनाकी छोरीलाई अगाडि राखेर बोकेको ‘क्यारी ब्याग’लाई ढाल बनाएर खैरो हेरोइन ओसारपसार गर्ने प्रयास भएको घटनाले लागुऔषध तस्करीको नयाँ र गम्भीर प्रवृत्तिलाई उजागर गरेको छ ।
बच्चा बोकेको देखेपछि कसैले शंका नगर्ने मनोविज्ञानको फाइदा उठाउँदै महिलाले लागुऔषध नेपाल भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शनिबार अपराह्न ४ बजेतिर रंगेली नगरपालिका–४ नेवा टोलबाट १० महिनाको बच्चा बोकेकी महिलालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी कानेपोखरी गाउँपालिका–७ रमाइलोकी २२ वर्षीया सुष्मिता लिम्बूमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनले अगाडि भिरेको बच्चा बोक्ने ‘क्यारी ब्याग’को अगाडिको गोजीमा कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
सुष्मिताको साथबाट बरामद भएको लागुऔषध डिजिटल तराजुमा तौल गर्दा ३ ग्राम भएको छ । एसपी कटवालका अनुसार लागुऔषध बरामद भएको बेला सुष्मिताले आफ्नी १० महिनाकी छोरीलाई पनि सोही ‘क्यारी ब्याग’मा बोकेकी थिइन् ।
प्रारम्भिक सोधपुछका क्रममा सुष्मिताले उक्त लागुऔषध रंगेली नगरपालिका–६ पिपलचोकका २३ वर्षीय ताराचन्द मण्डल र रंगेली–७ का १८ वर्षीय आयुष साहलाई दिन ल्याएको बयान दिएकी थिइन् । त्यसपछि प्रहरीले दुवै जना युवालाई रंगेली–७ बाट पक्राउ गरेको छ ।
एसपी कटवालका अनुसार सुष्मिता आफैं भारत पुगेर लागुऔषध खरिद गरी रंगेली नगरपालिका–४ स्थित चोप्रा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट करिब ५ सय मिटर नेपालभित्र प्रवेश गरेलगत्तै उनी प्रहरीको नियन्त्रणमा परेकी हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका दुई युवाले नै सुष्मितामार्फत लागुऔषध मगाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बच्चा बोकेको देखाएपछि कसैले शंका नगर्ने ठानेर सुष्मिताले बच्चा बोक्ने ‘क्यारी ब्याग’मा राखेर लागुऔषध तस्करी गरेको प्रहरीको भनाइ छ ।
‘१० महिनाकी छोरीलाई ‘क्यारी ब्याग’मा बोकेर त्यही ‘ब्याग’को अगाडिको गोजीमा कालो प्लास्टिकमा लुकाइछिपाइ लागुऔषध ओसारपसार गर्ने महिलालाई पक्राउ गरिएको छ । उनी लागुऔषध ओसारपसार गर्ने भरिया रहेको पत्ता लाग्यो । महिलामार्फत भारतबाट लागुऔषध मगाउने दुई जना युवालाई पनि पक्राउ गरिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ,’ एसपी कटवालले भने ।
यो घटनाबाट लागुऔषध ओसारपसार गर्ने एवं तस्करीको धन्दा चलाउनेले निर्दोष बच्चालाई देखाउने खतरनाक रणनीति अपनाउन थालेको यकिन हुने प्रहरीको भनाइ छ । ‘लागुऔषध तस्करीको नयाँ प्रवृत्ति देखियो । कानुन कार्यान्वयन गर्ने निकायसँगै समाजका लागि पनि यो घटना गम्भीर र खतरनाक विषय बनेको छ,’ एसपी कटवालले भने । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ ।
उनीहरुमाथि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























