आर्थिक वर्ष सुरु भइसक्दा पनि १३ स्थानीय तहले ल्याएनन् बजेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ०६:११

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको केही समय बितिसक्दा पनि देशभरका १३ स्थानीय तहले अझै चालु आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका ७५३ स्थानीय तहमध्ये ७४० स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन सुरु गरिसकेका छन् । बाँकी १३ स्थानीय तहमा भने राजनीतिक विवाद, प्राविधिक समस्या तथा अन्य आन्तरिक कारणले बजेट प्रस्तुत हुन सकेको छैन ।

Advertisement

बजेट ल्याउन नसकेका स्थानीय तहमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका १० वटा रहेका छन् । तीमध्ये सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटका गरुडा, कटहरिया, फतुवा विजयपुर र मौलापुर नगरपालिका तथा यमुनामाई गाउँपालिका, पर्साका छिपहरमाई र पकाहा मैनपुर गाउँपालिका छन् ।

यस्तै, कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि हालसम्म बजेट ल्याउन सकेका छैनन् । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३६ वटाले बजेट ल्याइसकेका छन् ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयन अघि बढाइसकेका मन्त्रालयले जनाएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार महिनाभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×