मोरङमा करिब १५ लाखको सामान बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ०६:४८

विराटनगर । सशस्त्र प्रहरी बलले मोरङका विभिन्न नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपैयाँ बराबरका सामान र सवारी साधन बरामद गर्दै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सामान बरामद गर्ने क्रममा सशस्त्रले एक जनालाई पक्राउसमेत गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी सिटी सफारीमा लोड गरेर ल्याउँदै गरेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । सोही टोलीले बिल–बीजकबिनै कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेको करिब ५ लाख ८० हजार २८० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामग्री पनि नियन्त्रणमा लिएको छ ।

Advertisement

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको ड्युटी टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ५ लाख ५२ हजार ४६० रुपैयाँ बराबरका औषधि, स्कुटर, सिटी सफारी तथा कागती बरामद गरेको छ । सिटी सफारी तथा स्कुटरसहित बरामद गरिएका १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।

उनले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी बढाएर चेकजाँचलाई कडा बनाइएको बताए । ‘सीमा क्षेत्रमा कडाइ गरिएको छ । चोरी तस्करी नियन्त्रणका लागि सबै निकायसँग समन्वय भइरहेको छ,’ एसपी भण्डारीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×