
काठमाडौं । वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले आकर्षक नगद उपहार योजना ल्याएको छ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै उपभोक्ताका लागि दैनिक र पाक्षिक रूपमा लाखौँ रुपैयाँ जित्ने अवसर प्रदान गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बिल लिने उपभोक्तामध्येबाट गोलाप्रथाद्वारा हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ नगद उपहार पाउनेछन् । त्यस्तै, महिनामा दुई पटक ‘बम्पर उपहार’ प्रदान गरिनेछ, जसमा दुई जना भाग्यशाली विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
१०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने नेपाली उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन् । डिजिटल माध्यम (फोनपे, कनेक्ट आइपिएस, कार्ड आदि) बाट भुक्तानी गर्दा प्रणालीले स्वतः उपहार टिकट जारी गर्नेछ ।
नगदमा सामान किनेर बिल लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको मोबाइल एप वा वेब पोर्टलमा गई बिलको विवरण (प्यान नम्बर, बिल नम्बर, रकम आदि) दर्ता गराउनुपर्नेछ ।
व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी वा सार्वजनिक संस्थाका बिल, बिजुली, टेलिफोन, इन्टरनेट, हवाई टिकट र सवारी ढुवानीका बिलहरू यो योजनामा समावेश हुने छैनन् । साथै, प्यान नम्बर नभएका पसलबाट लिएको बिल पनि मान्य हुने छैन ।
विजेताको छनोट विभागको प्रणालीबाट स्वचालित रूपमा हुनेछ । विजेताले घोषणा भएको १५ दिनभित्र आफ्नो नागरिकता, बैंक खाता र सक्कल बिलसहित राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । उपहार रकममा आयकर ऐनअनुसार २५ प्रतिशत कर कट्टी गरिनेछ । १५ दिनभित्र दाबी नगरेमा उक्त रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने कार्यविधिमा उल्लेख छ ।

























