
विराटनगर । विराटनगर महानगरपालिकाले हचुवाका भरमा कर्मचारी सरुवा गरेको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि जनाएका छन् ।
१९ वटै वडाका राजस्व शाखाका कर्मचारीहरुलाई गोलाप्रथा गरी सरुवा गरिएपछि केही वडाध्यक्षहरुले सरुवा भएका कर्मचारीहरुलाई हाजिर गराउन अस्वीकार गरेका छन् । वडामा राजस्वका कर्मचारी सबै वडामा एकै तहका छैनन् । वडामा कार्यरतमध्ये निजामति कर्मचारी थोरै संख्यामा छन् । अधिकांश सामाजिक परिचालकहरुलाई राजस्व संकलनको जिम्मेवारी दिइएको छ ।
विराटनगर–४ का वडाध्यक्ष जितन थापाले महानगरले गोलाप्रथाबाट सरुवा गरेको कर्मचारीलाई हाजिर गर्न दिएका छैनन् । सो वडा राजस्व संकलन गर्नेमा दोश्रो स्थानमा छ । झन्डै ७ करोड वार्षिक राजस्व संकलन हुँदै आएको वडामा सामाजिक परिचालकलाई पठाएको भन्दै वडाध्यक्ष थापाले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘हाम्रो वडामा अहिले निजामति कर्मचारी छन् । सोही तहका निजामति कर्मचारी नै चाहियो । सामाजिक परिचालक हामीलाई चाहिएन ।’ राजस्व संकलनको अवस्था अनुसार कर्मचारीको सरुवा हुनुपर्ने उनको भनाइ छ । थापाले भने, ‘कर्मचारी सरुवाको विषय अपरिपक्व छ । यो त केटाकेटी खेले जस्तो भयो ।’
विराटनगर–१७ का वडाध्यक्ष समीम कमरले महानगरले वडाध्यक्षहरुसँग समन्वय नगरी हचुवाका भरमा कर्मचारी सरुवा गरिएको भन्दै आपत्ति जनाए । उनले स्थानीय भाषाको राम्रोसँग ज्ञान भएको कर्मचारी नभएकाले हाजिर गर्न नदिइएको बताए । उनले भने, ‘स्थानीय भाषाको राम्रो ज्ञान भएको होस् । अनि पुरुष कर्मचारी हुनुपर्यो ।’
विराटनगर ७ र ९ का कर्मचारी विवादलाई समाधान गर्न नसकेर महानगरले अन्य वडाका कर्मचारीलाई पनि प्रभावित गर्ने गरी गोलाप्रथाबाट सरुवा गरेको एक वडाध्यक्षले बताए । उनले भने, ‘महानगर प्रमुख कांग्रेसका र दुवै वडाका वडाध्यक्ष कांग्रेसका हुन् । उनीहरु विवाद मिलाउन नसक्ने अनि हचुवाको भरमा कर्मचारी सरुवा गर्ने ?’
विराटनगर ४, ६, १७ र १८ ले गोलाप्रथाबाट गएका कर्मचारीलाई वडाध्यक्षहरुले हाजिर हुन दिएका छैनन् । गत साउन १ गते वडाहरुको राजस्व शाखामा कार्यरत कर्मचारीलाई राजस्वका विषयमा छलफल गर्न भन्दै बोलाएर अकस्मात गोला तान्न लगाइएको थियो । गोला तान्ने प्रकृयाप्रति कर्मचारीले असन्तुष्टि जनाएका थिए ।
महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम आफैंले गोला तानेको त होनी भनेर पन्छिएको एक कर्मचारीने बताए । ती कर्मचारीले भने, ‘आफैंले गोला तानेर वडा छानेको त होनी भनेर राजस्वय महाशाखा प्रमुख गौतम पन्छिएका थिए ।’
सबै वडाका राजस्व कर्मचारीको कार्यस्थल परिवर्तन गरी सम्बन्धित वडामा पठाइए पनि केही वडाबाट फिर्ता भएको महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताए । वडामा केही कर्मचारीलाई हाजिरीमा रोक लगाइएको बताउँदै थपलियाले नियमअनुसार नै कर्मचारी फेरबदल गरेर पठाइएको दाबी गरे ।

























