
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले लक्ष्यभन्दा करिब दुई अर्ब कम मात्रै राजस्व संकलन गर्न सकेको हो । संकलित राजस्व रकम वार्षिक लक्ष्यको ८५.१५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यको तुलनामा एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ कम राजस्व उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार आयकरबाट चार अर्ब सात करोड २५ लाख ४१ हजार रुपैयाँ, बहाल आयकरबाट आठ करोड आठ लाख ५५ हजार रुपैयाँ, ब्याज करबाट ३८ करोड १३ लाख एक हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)बाट दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट तीन अर्ब १५ करोड १० लाख ४९ हजार रुपैयाँ संकलत भएको छ । त्यसैगरी शिक्षा करतर्फ ८४ हजार रुपैयाँ र अन्य शीर्षकबाट पाँच करोड आठ लाख ३२ हजार रुपैयाँ राजस्व उठेको उप्रेतीले बताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा नौ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा आठ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको थिाये । त्यस्तै आर्थिक वर्ष २०८१–८२ मा १० अर्ब ७२ करोड रुपैयाँको लक्ष्यमा नौ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
राजस्व वृद्धिदर भने निरन्तर सकारात्मक रहेको कार्यालयको भनाइ छ । आर्थिक वर्ष २०८०–८१ मा ८.७७ प्रतिशत, २०८१–८२ मा ७.६१ प्रतिशत र २०८२–८३ मा ७.२८ प्रतिशतले राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।
हाल आन्तरिक राजस्व कार्यालय विराटनगरमा ६० हजार ६७५ करदाता आबद्ध छन् । प्रमुख उप्रेतीका अनुसार जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण लक्ष्यअनुसार राजस्व संकलन गर्न कठिन भएको छ ।
आन्दोलनपछि कार्यालयका कर्मचारीले फिल्डमा पुगेर नियमित अनुगमन तथा कर प्रशासनका काम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा राजस्व संकलनमा असर परेको उनले बताए । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले २०८२ भदौ २४ गते आन्तरिक राजस्व कार्यालय विराटनगरमा आगजनी र तोडफोड गर्दै लुटपाट मच्चाएको थियो ।



















