गाँजा ओसारपसारमा सुरक्षा दिँदै हिँडेका मोटरसाइकल चालकसहित दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १४:३२

धनकुटा । धनकुटामा प्रहरीले ७१ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको अटो र त्यसलाई सुरक्षा दिँदै पछाडि आएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटाका प्रहरीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार शुक्रबार राति साँगुरीगढी गाउँपालिका–२ मान्दावा टोलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को २ ह १२५ नम्बरको अटो टेम्पोलाई रोकेर चेकजाँच गरेको थियो । जाँचका क्रममा प्लास्टिकका पाँचवटा बोरामा प्याक गरिएको ७१ किलो ३५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसलगत्तै अटो चालक साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बूलाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए । साथै, अटोको पछाडि सुरक्षा दिँदै आएको प्र १–०४–००१ प ४७९१ नम्बरको मोटरसाइकलका चालक साँगुरीगढी–३ मादेनका ३२ वर्षीय मदन याखालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाँजासहित ओसारपसारमा प्रयोग गरिएको अटो, पल्सर मोटरसाइकल, शिखर लिम्बूको सिमसहितको रेड्मी मोबाइल फोन र मदन याखाको किप्याड मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×