सांकेतिक फोटो ।इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ईस्राईल कामतबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) १०८.०३ ग्रामसहित एक जना पक्राउ परेका छन् ।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका धनकुटाको धनकुटा नगरपालिका–१ का ३५ वर्षीय मनबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नरसिंह टप्पुबाट खटिएको टोलीले शंका लागेपछि शनिबार बिहान ५ः५० बजेतिर थापालाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
त्यस क्रममा थापाको साथबाट चारवटा पोकामा लुकाइछिपाइ राखिएको १०८.०३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्राउन सुगर चारवटा पोकामा छुट्टाछुट्टै राखिएको थियो ।
थापालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























