सुनसरीमा ७.९५ लाख बराबरका अवैध सामान बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १३:३७

विराटनगर । भारतबाट भन्सार छली गरेर ल्याइएका करिब ७ लाख ९५ हजार (७.९५ लाख) रुपैयाँ बराबरका कपडा तथा तीनवटा मोटरसाइकल सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो । प्रहरी घटनास्थलमा पुग्दा को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झार्दै गरेका व्यक्तिहरू प्रहरीलाई देख्नेबित्तिकै सामान र मोटरसाइकल छाडेर फरार भएका थिए ।

Advertisement

प्रहरीले घटनास्थलबाट ५४२ थान कुर्ता–सलवारसहित अनुमानित ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान र तीनवटै मोटरसाइकल बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार भएका व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×