अभिषेक गिरीसँग ‘कनेक्सन’ देखिएपछि विराटनगरबाट मुकेश पक्राउ

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ श्रावण ९, शनिबार १०:५९

विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग ‘कनेक्सन’ देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–७ घर भएका ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान ७ः३० बजेतिर पक्राउ गरेको हो । घरबाटै पक्राउ गरेर कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ ।

Advertisement

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग लामो समयदेखि ‘कनेक्सन’मा रहेको पाइएपछि अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिइएको हो । गिरीसँगकै सम्बन्ध र सम्पर्कका आधारमा पक्राउ परेका कार्कीको पृष्ठभूमिदेखि लिएर हाल उनीसँग सम्बन्धित रहेका सबै विषयमा अनुसन्धान हुने मिश्रले बताए ।

‘गिरीसँग निकट रहेर उनको हरहिसाब हेर्ने र राख्नेदेखि लिएर अन्य कुराको व्यवस्थापन गरिदिने काम कार्कीले गर्ने गरेको पाइयो । गिरीकै समूहमा आबद्ध भएर आपराधिक गतिविधिमा पनि संलग्न भएको हुन सक्ने आशंका छ । सबै कोणबाट कार्कीमाथि अनुसन्धान हुन्छ,’ प्रहरी स्रोतले भन्यो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको जानकारी मिश्रले दिए ।

उनका अनुसार कार्की लामो समयदेखि प्रहरीको निगरानीमा थिए । उनलाई पक्राउ गर्न यसअघि पनि प्रहरी घरमा पुगेको थियो । तर, कार्की शनिबार बिहान मात्रै पक्राउ परेका हुन् । उनले विराटनगरमा सुधार केन्द्रसमेत सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

कार्की मात्रै नभएर गिरीसँगको ‘कनेक्सन’मा रहेर उनको आपराधिक धन्दामा सहयोग गर्नेहरुलाई धमाधम कारबाहीको दायरामा ल्याउने तयारी प्रहरीको छ । प्रहरी कडा रूपमा प्रस्तुत भएपछि गिरीको समूहमा आबद्ध भएर असुली र मिटरब्याजको धन्दा चलाउनेदेखि लिएर समाजमा आतंक फैलाउने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका धेरै जना अहिले फरार भएको स्रोतले बतायो ।

‘गिरीको छत्रछायामा रहेर विराटनगरमा आतंक मच्चाउने, असुली र मिटरब्याजको धन्दा चलाउने, ठेक्कापट्टा हत्याउन खोज्ने एवं धाकधम्की दिनेहरु अहिले फरार छन् । प्रहरीले खोजी गरिरहेको छ । फरार नभएका र विराटनगरमै दैनिक गतिविधि गरिरहेका केही व्यक्तिलाई निगरानीमा राखिएको छ । गिरीसँग विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको समेत गजबको ‘कनेक्सन’ देखिएको छ । ती सबै प्रहरीको निगरानीमा छन्,’ स्रोतले भन्यो । गिरीसँग ‘कनेक्सन’ देखिएकाहरु आर्थिकदेखि लिएर कुनै न कुनै हिसाबले आपराधिक धन्दामा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा गिरी असार १३ गते विराटनगर–८ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरेर आफूले लिएको पाइएपछि गिरीलाई मोरङ प्रहरीले पक्राउ गरेर आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो ।

उच्च अदालत विराटनगरले गिरीको तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै ५ दिनभित्र अनुसन्धान टुंग्याउन वा अनुसन्धान नसकिए गिरीलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन असार १७ गते प्रहरीका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । तर, प्रहरीले असार २२ गते संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई जिल्ला अदालत मोरङमा उपस्थित गरायो ।

जिल्ला अदालत मोरङले म्याद थप गर्न अस्वीकार गर्दै उच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन भन्यो । तर, गिरी रिहा भएनन् । किनकि उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघात मुद्दामा पहिले नै पक्राउ पुर्जी लिइसकेको थियो ।

असार २२ गते जिल्ला अदालतको आदेशबाट छुटेका गिरीलाई तत्कालै नियन्त्रणमा लिएर मोरङ प्रहरीले विराटनगरबाट काठमाडौं पठाई सीआईबीको जिम्मा लगायो । गिरीमाथि अहिले सीआईबीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेर २०७९ चैत ५ गते रिहा भएका थिए । मोरङ कारागारमा चौकीदार हुँदा कैदीबन्दीलाई चरम यातना दिएर पैसा असुलेको, रासन र लत्ताकपडाको भत्ता हडपेको तथा बाहिर आफ्नो समूह परिचालन गरेर मिटरब्याजको धन्दा चलाउने गरेको लगाएका विभिन्न आरोप लाग्ने गरेका थिए ।

गिरीले जेलबाट छुटेपछि पनि कारागारभित्र आर्थिक गतिविधि, मेस आपूर्ति र कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको प्रहरीको हालसम्मको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले गिरीको घरमा खानतलासी गर्दा पैसा गन्ने मेसिन समेत बरामद भएको थियो ।

आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×