
काठमाडौं। टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली सिरिज खेल्न सोमबार राति त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई बिदाइ गरिसकेको छ। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्नेछन्।
टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ। यस्तै, नेपालले बंगलादेश हाई पर्फर्मेन्स, होबार्ट हरिकेन्स एकेडेमी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, हैदरावाद किङ्समेन एकेडेमी तथा भिक्टोरिया सिए-११ विरुद्ध खेल्नेछ।
क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ।

























