
विराटनगर । ताप्लेजुङको फुङलिङमा ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । लाखे जात्रा सञ्चालन समितिले भदौ १२ गतेदेखि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजक समितिका अध्यक्ष सागर मादेनले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । उनका अनुसार भदौ १२ देखि भदौ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ । ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता हुन लागेको हो । समूह ‘ए’ मा आयोजक ताप्लेजुङ –११, काठमाडौंको सातदोबाटो फुटबल क्लब, डिफेन्डिङ च्याम्पियन सिरहाको सलहेश युवा क्लब र भारतको जर्जियन युनाइटेड रहेको छ भने समूह ‘बी’ मा काठमाडौंको चित्लाङ फुटबल क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष मादेनले बताए ।
भदौ १२ गते उद्घाटन खेल आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच हुनेछ । दोस्रो खेल चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब, तेस्रो खेलमा सातदोबाटो फुटबल क्लब र सलहेश युवा क्लब, चौथो खेल नेपाल पुलिस क्लब र झापा ११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
भदौ १६ र १७ गते सेमिफाइनल चरणका खेल हुने छ भने १९ गते उपाधिका लागि फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ७ हजार मूल्य बराबरको अलैँची प्राप्त गर्ने छन् ।

























