ठेक्का तोडिएका व्यवसायीलाई रकम बुझाउन सडक डिभिजन इलामको ताकेता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १०:२५

इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ। डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ती ठेक्काहरू रद्द गरिएका थिए।

ठेक्का अन्त्यपश्चात्को कारबाहीस्वरूप सार्वजनिक खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक-पटक प्रयास गरेको थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार रकम बुझाउन प्रयास गर्दा पनि हालसम्म दाखिला नभएकाले डिभिजनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रकम दाखिला गर्न आह्वान गरेको हो।

Advertisement

सूचनाअनुसार ठेक्का रद्द भएका निर्माण व्यवसायीहरूले ऐन र नियमावलीबमोजिम कायम भएको सरकारी बाँकी रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा दाखिला गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तोकिएको राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम जम्मा गरी सोको बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।

ठेक्का तोडिएका र बाँकी रकम दाखिला गर्नुपर्ने निर्माण व्यवसायीहरूमा पाँचथरको बुढाथोकी निर्माण सेवा (रु २३ लाख ४ हजार ५८७ र ४५ पैसा) र ताप्लेजुङको मावोहाङ निर्माण सेवा (रु १ करोड ८ लाख २५ हजार २ र ६२ पैसा) रहेका छन्। यसैगरी मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा.लि. का दुईवटा ठेक्काको क्रमशः रु ४ करोड ५९ लाख ७१ हजार ५६३ र ७५ पैसा तथा रु ३ करोड ४२ लाख ४७ हजार ७०८ र ६८ पैसा दाखिला गर्न बाँकी छ।

यस्तै इलामको एम.डि.ब्रो. कन्स्ट्रक्सन प्रा.लि. (रु ९ लाख ३४ हजार ७५० र १० पैसा), धनकुटाको शाहरपूजा जे.भी. का दुई ठेक्का (क्रमशः रु ८६ लाख ३३ हजार ३१३ र ७८ पैसा तथा रु ५७ लाख ३६ हजार ९५९ र ६७ पैसा) तथा धनकुटाकै आशिवर्दिरपूजा जे.भी. (रु १ करोड ७१ लाख ७४ हजार १६३ र ९२ पैसा) ले पनि बाँकी रकम बुझाउनुपर्नेछ।

त्यसैगरी इलामको माईजोगमाई स्थित एबिसि निर्माण सेवा (रु १ करोड १८ लाख १३ हजार ३८४ र २३ पैसा), धनुषाको के.एम. कन्स्ट्रक्सन (रु ३६ लाख ८७ हजार ७२६ र ३६ पैसा), पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रा.लि. (रु ७९ लाख ४९ हजार २४५ र २९ पैसा) र धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी. (रु १ करोड ९९ लाख १४ हजार ४४७ र ९९ पैसा) ले रकम दाखिला गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×