
भोजपुर । सडक सञ्जालको विस्तारसँगै भोजपुरका ग्रामीण क्षेत्रका किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँ–गाउँसम्म कच्ची तथा पक्की सडक पुगेपछि उत्पादित आलुले सहजै बजार पाउन थालेको हो ।
कुनै समय उत्पादित आलु बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने र भरिया लगाएर महँगो ढुवानी खर्च व्यहोर्नु पर्ने बाध्यतामा रहेका किसानहरू अहिले घरदैलोमै व्यापारी आइपुग्दा हर्षित छन् । सडकको पहुँचले ढुवानीको समस्या हटेपछि किसानहरूले आलु खेतीलाई आम्दानीको मुख्य स्रोत बनाउन थालेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार अहिले गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘पहिले उत्पादन गरेर पनि कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो, धेरैजसो आलु घरमै थन्किन्थ्यो,’ विष्ट भन्छन् , ‘अहिले सडकको सुविधा भएपछि व्यापारीहरू गाडी लिएर गाउँमै आउँछन् । यसले हामीलाई धेरै सहज भएको छ ।’
प्रांगारिक मलको प्रयोग गरी उत्पादन गरिएको स्थानीय आलुको स्वाद र गुणस्तर राम्रो हुने भएकाले सहरमा यसको माग उच्च छ । गाउँमा ५० रुपैयाँसम्ममा खरिद गरिएको आलु धरान, इटहरी जस्ता सहरहरूमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
केही वर्ष अघिसम्म आलु बजार पुर्याउन निकै कठिन थियो । भरियालाई बोकाएर लैजाँदा ढुवानी खर्चले नाफा नै खाइदिन्थ्यो । अहिले त्यो बाध्यता हटेको छ । व्यापारी घरमै आएर आलु जोखेर लैजाने गरेको किसानहरू बताउँछन् ।
भोजपुरका विभिन्न ग्रामीण भेगमा उत्पादित आलु अहिले स्थानीय बजारमा मात्र सीमित नभई तराईका ठुला सहरहरूमा समेत पुग्न थालेको छ । आलुसँगै मकै, अन्य तरकारी र फलफूलको बजारीकरणमा पनि सडकले ठुलो सहयोग पुर्याएको किसानहरूको अनुभव छ ।
कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांक अनुसार जिल्लामा हाल करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । प्रांगारिक उत्पादनमा जोड दिइएकाले यहाँको आलुको माग बजारमा निरन्तर बढिरहेको छ ।
सडक सञ्जालको विस्तारले किसानको श्रमको उचित मूल्य दिलाउनुका साथै ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । बजारको सुनिश्चितता भएपछि भोजपुरका थुप्रै किसानहरू अब परम्परागत खेती छाडेर व्यावसायिक आलु उत्पादनतर्फ उत्साहित देखिएका छन् ।



















