
काठमाडौं । काठमाडौंमा रेडबुल राष्ट्रिय इन्डोर टी १० क्रिकेट प्रतियोगिता हुने भएको छ । डी टु इभेन्ट्सले आयोजना गरेको रेडबुल राष्ट्रिय इन्डोर टी १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल हुनेछ ।
प्रत्येक समूहको विजेता टोली सोझै क्वाटर फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनका अवसरमा ट्रफी सार्वजनिक गरिएको थियो । तीन दिने प्रतियोगिताका खेलहरू चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा खेलाइने छ । आयोजकका अनुसार प्रतियोगताका सञ्चालन गर्न करिब १४ लाख रुपैयाँ खर्च हुनेछ ।



















