
काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज (शनिबार) भिक्टोरिया सीए–११ विरुद्ध खेल्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अपराह्न १ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ। पाँच खेलबाट चार अङ्क जोडेको नेपालले अहिलेसम्म दुई खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटको हार व्यहोरेको थियो।
त्यसपछि नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसीटी०लाई चार विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको थियो।
तर पाँचौँ खेलमा नेपाल हैदरावाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो। अब अन्तिम खेलमा भिक्टोरिया सीए–११ लाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ। नेपालले यसपटक दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको हो।



















