
विराटनगर । कृष्ण जन्माष्टमीको पावन अवसरमा प्याब्सन विराटनगरद्वारा आयोजित ‘कृष्ण मेरो कल्पनामा’ विषयक नगर स्तरीय चित्रकला प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै वर्चस्व कायम गरेको छ ।
विराटनगर महानगरपालिकाभित्रका विभिन्न विद्यालयका १०९ जना विद्यार्थी सहभागी रहेको प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो सृजनशीलतामार्फत भगवान् श्रीकृष्णका विविध रूपलाई क्यानभासमा उतारेका थिए । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताको समूह ‘क’ (कक्षा १–३) मा एभरेस्टका मुदित सोमानी प्रथम भए । सोही समूहमा ग्रेडेडका संस्कार श्रेष्ठ द्वितीय, ओडिसीकी काइनात कैयम खान तृतीय र कोशी विद्या मन्दिरकी अनुस्का सिंहले सान्त्वना स्थान हासिल गरे ।
समूह ‘ख’ (कक्षा ४–७) तर्फ ओडिसी स्कुलकी सृष्टि यादव प्रथम भइन् भने एभरेस्टकी रोनी सापकोटा द्वितीय, गौतम बुद्धकी आहिस्मा आचार्य तृतीय र कोशी विद्या मन्दिरकी रागी शाह सान्त्वना भइन् । समूह ‘ग’ (कक्षा ८–१०) मा एभरेस्टकी राशनी ठाकुरले प्रथम स्थान हात पारिन् । बुढानीलकण्ठका योगराज साह द्वितीय, ग्रेडेडकी कृतिका यादव तृतीय तथा अर्पणकी रेस्मा राजवंशी र पोलस्टारका रिदम दाहाल सान्त्वना भए ।
त्यसैगरी, समूह ‘घ’ (कक्षा ११–१२) तर्फ डीपीएसकी जिया मोदी प्रथम, ग्रिनल्याण्डकी इन्जु सरदार द्वितीय र अर्किड स्कुलका बादल पासवान तृतीय भए । उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउन र उनीहरूलाई कला–संस्कृतिसँग जोड्न मद्दत पुग्ने बताए । प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यार्थीको बहुआयामिक विकासका लागि प्याब्सनले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे । कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, एपीन कोशीका अध्यक्ष विजय दाहाल लगायतको उपस्थिति थियो ।

























