
काठमाडौं। जलविद्युत आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी तथा उद्धार कार्य जारी रहने नेपाली सेनाले जनाएको छ । आज (सोमबार) सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्न निर्णय नगरेसम्म सबै सुरुङमा निरन्तर खोजी गरिने बताए ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीले संयुक्त रूपमा खोजी तथा उद्धार गरिरहेका छन् । बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार आयोजना स्थल तथा विद्युत् सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन छन् ।
रसुवामा रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन् । नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजना प्रभावित छन् । संयुक्त उद्धार टोलीले अपर त्रिशूली–१ को सुरुङभित्र ११५ मिटर पुगेपछि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको थियो । २१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङभित्र उद्धारकर्मीलाई समेत अक्सिजन आवश्यक परेको सहायक रथी थापाले बताए ।
त्यस्तै, त्रिशूली–३ ए जलविद्युत आयोजनाको नुवाकोटस्थित पावर हाउसमा चारवटा स्काभेटर र तीनवटा वाटर पम्प प्रयोग गरेर खोजी तथा उद्धार गरिएको सेनाले जनाएको छ । त्यहाँबाट दुई जनाको जीवित उद्धार र एक जनाको शव निकालिएको थियो । पावर हाउसको ढोका भेट्न निरन्तर प्रयास भइरहेको र भित्र धेरै लेदो पसेकाले उद्धारमा समस्या भएको थापाले बताए । उनका अनुसार सुरुङको १७५ मिटरभित्र पावर हाउस रहेको र उद्धार टोली १० दिनपछि मात्रै त्यहाँ प्रवेश गर्न सफल भएको थियो ।
त्रिशूली–३ बी आयोजनामा ४० जना पुरिएको आशङ्का गरिएको छ । आयोजनास्थलमा सेनाका ९० जना सुरक्षाकर्मी अहिले पनि खोजी तथा उद्धारमा खटिएका छन् । थापाका अनुसार त्यहाँ मेनपावर, साबेल र मिनी स्काभेटर प्रयोग गरेर खोजी भइरहेको छ ।

























