खरानीको थुप्रोमा उभिएर भविष्य खोज्दै छौँ: मुख्यमन्त्री कार्की

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १५:०३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएका क्षतिबाट गम्भीर पाठ सिक्नुपर्ने बताएका छन् । आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उनले देशका महत्त्वपूर्ण प्रशासनिक र भौतिक संरचनाहरू ध्वस्त हुँदा मुलुक पछि धकेलिएको उल्लेख गरे ।

आन्दोलनका क्रममा देशभर ७६ भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको थियो भने कोशी प्रदेशमा पनि मुख्यमन्त्री कार्यालय, प्रदेशसभा र विभिन्न मन्त्रालयहरूमा क्षति पुगेको थियो ।

Advertisement

कार्कीले त्यसबेलाको घटनालाई नेपाली जनताले जीवनभर सम्झिने कहालीलाग्दो र दुःखद दिनका रूपमा चित्रण गरे। उनले भने, ‘हामी अहिले त्यही खरानीको थुप्रोमा उभिएर धुलो टक्टक्याउँदै अघि बढ्दै छौँ ।’

मुख्यमन्त्री कार्कीले भौतिक संरचनाहरूको पुनर्निर्माण अझै पूर्ण रूपमा हुन नसकेको र आफूहरू मानसिक रूपमा पनि आक्रान्त रहेको बताए । उनले भने, ‘हामीले अझै पनि हाम्रा मन्त्रालयहरूलाई सोचेजस्तो पुनस्र्थापित गर्न सकेका छैनौँ ।’

विद्रोहका नाममा राष्ट्रिय सम्पत्ति र संरचनामाथि प्रहार हुनु गलत भएको उनको भनाइ छ। कार्कीले भने, ‘राजनीतिक विद्रोहका आफ्ना ठाउँ होलान्, तर हाम्रा भवन, सम्पदा र सम्पत्ति जलाउनु भनेको आफ्नै भविष्य जलाउनु हो ।’

नयाँ सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै कार्कीले जनादेशको सदुपयोग गर्दै संविधान र कानुनको परिधिभित्र रहेर सुशासन कायम गर्नुपर्नेमा जोड दिए। उनले पुराना र नयाँ दुवै दलले आफ्ना कमजोरीबाट पाठ सिकेर देश र जनताको हितमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×