जेनजी आन्दोलनको प्रतिवेदन गायब पारिएको प्रचण्डको आरोप

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १८:२७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ साल भदौ २३ गते भएको जेनजी आन्दोलनमा योजनाबद्ध रूपमा घुसपैठ गरी आन्दोलनलाई अर्कैतर्फ मोडिएको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकमा मंगलबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले जेनजी आन्दोलनमा घुसपैठ गर्ने व्यक्ति वा समूह को थियो भन्ने विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए । उनले आन्दोलनमा घुसपैठ गर्नेहरूकै कारण त्यसपछिका घटनाक्रम प्रभावित भएको दाबी गर्दै त्यसबारे तथ्यमा आधारित अध्ययन हुनुपर्ने बताए ।

Advertisement

‘त्यो घुसपैठ गर्ने को थिए र तिनले अहिले देशलाई कहाँ पुर्‍याए भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले भने, ‘समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन् भन्ने मलाई विश्वास छ ।’ प्रचण्डले जेनजी आन्दोलनका सम्बन्धमा मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका प्रतिवेदनसमेत अहिले उपलब्ध नरहेको दाबी गरे ।

ती प्रतिवेदन सरकारको जिम्मेवारीमा रहेका व्यक्तिहरूले गायब पारेको आरोप लागिरहेको भन्दै उनले यसबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए । ‘म सुन्दै छु, आज म कसैप्रति आरोप लगाउन चाहन्नँ । तर, ती प्रतिवेदनहरू गायब पारिएका छन् । अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ । सत्य तथ्य के हो ?’ उनले प्रश्न गरे ।

उनले भदौ २४ गते भएका तोडफोड र विध्वंसका घटनाका बारेमा पनि छानबिन हुनुपर्ने बताए । आन्दोलनकारीहरूले भदौ २३ गते नै घर फर्किन आग्रह गर्दै आन्दोलनमा घुसपैठ र अपहरण भएको बताएको अवस्थामा त्यसको अर्को दिन भएको विध्वंस कसले गर्‍यो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘२३ गते नै घर फर्किनू, घुसपैठ भयो, अपहरण भयो हाम्रो आन्दोलन भन्नेहरूले त पक्कै चलाएको होइन । यी कुराहरू पनि आज २३ गतेको दिन हामी सबैले चिन्तन गर्नुपर्ने र सत्य तथ्य बाहिर ल्याउनका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने आवश्यकता छ ।’

उनले जेनजी आन्दोलनका क्रममा भएका घटना र त्यसपछि विकसित राजनीतिक तथा सामाजिक परिस्थितिको निष्पक्ष अध्ययन आवश्यक रहेकोमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×