
कास्की। सेती नदीमा आएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलावासीले रसुवाको भोटेकोशी बाढीपीडितका लागि ७ लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । २०६९ वैशाख २३ गते अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै बगरमा परिणत भएको थियो ।
उक्त बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासहित झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो। बाढीबाट क्षतिग्रस्त खारपानी बजार अझै पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन ।
विगतमा आफूले भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका हुन् । राहत सङ्कलन अभियानमा १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएको वडाध्यक्ष गणेश आचार्यले बताए ।
उनका अनुसार सबै नागरिकसम्म पुगेर सहयोग सङ्कलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो। सङ्कलित रकम पारदर्शी रूपमा सार्वजनिक गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो। सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ ।



















