तस्बिरः एआईकुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । बिहानैदेखि घरमा बुवालाई मिठाई खुवाउने, नयाँ कपडा दिने, ढोग्ने र आशीर्वाद लिने चलन छ । सामाजिक सञ्जालमा पनि बुवासँगका तस्बिर र भावुक शब्दहरूले ठाउँ पाएका छन् ।
तर, बुवाको मुख हेर्ने दिन केवल मिठाई, कपडा र उपहार दिने दिन मात्र होइन । परिवारका लागि सधैँ बलियो बनेर उभिने बुवाको मनभित्र के छ, कुनै अफ्ठेरो परेको छ कि भनेर बुझ्ने दिन पनि हो ।
‘पुरुष भएर रुनु हुँदैन’, ‘कमजोर देखिनु हुँदैन’, ‘परिवारका लागि बलियो बन्नुपर्छ’ जस्ता सामाजिक सोचले पुरुषलाई आफ्ना भावना खुलेर व्यक्त गर्न कठिन बनाएको छ । समस्या पर्दा पनि धेरै पुरुष आफ्नो पीडा लुकाएर बस्छन् ।
आर्थिक तनाव, रोजगारीको असुरक्षा, पारिवारिक जिम्मेवारी, सम्बन्धमा आउने समस्या वा उमेर बढ्दै जाँदा हुने एक्लोपन—यी विषयमा पनि पुरुषले खुलेर कुरा गर्न नसक्ने अवस्था छ । विशेषगरी बुवा बनेपछि जिम्मेवारी अझ बढ्छ । छोराछोरीको भविष्यका लागि आफूले चाहेका धेरै कुरा त्याग्ने बुवाहरू छन् । तर, उनीहरूलाई ‘तपाईंलाई कस्तो छ रु’ भनेर सोध्ने संस्कार भने अझै बलियो बन्न सकेको छैन ।
विराटनगर–१० का ६२ वर्षीय रमेश आचार्य (नाम परिवर्तन) यसको एउटा उदाहरण हुन् । व्यापारमा भएको ठुलो घाटा र बैंकको ऋणले थिचिएका उनी परिवारका अगाडि भने सधैँ हँसिलो देखिने प्रयास गर्छन् ।
‘बुवाको मुख हेर्ने दिन छोराले उपहार ल्याउँदा मन भतभती पोल्छ,’ उनी भन्छन्, ‘भित्रभित्रै डिप्रेसनले खाइसकेको छ । तर, यस उमेरमा आएर हार मानेर डरले आफ्ना आँसु कसैलाई देखाउन पनि सक्दिनँ । यो छातीभित्रको पीडा कसलाई सुनाउनु ? परिवारका अगाडि आफू कमजोर पनि हुनुभएन। फेरि म कमजोर भए भने परिवारलाई कसले सम्हाल्छ ?’
रमेशजस्तै समाजका कैयौँ पुरुष आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र सामाजिक अपेक्षाको चपेटामा छन् । उनीहरू आफ्ना समस्या सुनाउनुभन्दा पनि परिवारका लागि बलियो बनेर उभिनुपर्ने दबाबमा हुन्छन् ।
विराटनगरस्थित मनोसामाजिक परामर्शकर्ता डा. मीना श्रेष्ठका अनुसार पुरुषमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरैजसो बाहिर आउँदैन । पुरुषले आफ्नो समस्या व्यक्त नगर्दा बाहिरबाट सबै ठिकठाक देखिए पनि उनीहरू भित्रभित्रै मानसिक दबाबमा हुन सक्ने उनी बताउँछिन् ।
वरिष्ठ मनोचिकित्सक डा. प्रभात चालिसे पनि समाजले पुरुषलाई सधैँ बलियो र परिवारको दाताका रूपमा हेर्ने गरेको बताउँछन् । ‘हामीले समाजमा पुरुषलाई सधैँ बलियो र दाताका रूपमा मात्र हेर्यौँ । त्यसले गर्दा उनीहरू आफ्नो कमजोरी वा भावनात्मक पीडा बाहिर ल्याउन डराउँछन्,’ उनी भन्छन्, ‘बुवाको मुख हेर्ने जस्ता चाडपर्व आउँदा आर्थिक रूपमा असफल भएका वा परिवारको इच्छा पूरा गर्न नसकेका पुरुषमा गहिरो कुण्ठा र अपराध बोध उत्पन्न हुन सक्छ। पुरुषको यो मौन पीडालाई परिवार र समाजले बुझ्न जरुरी छ ।’
विराटनगरकै सामाजिक क्षेत्रमा सक्रिय युवा विक्रम कार्की पनि आफ्नो पीडा आफैँभित्र गुम्साएर राख्ने गरेको बताउँछन् । आमाको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै बोकेका कार्की बुवाको मुख हेर्ने दिन सम्झँदै भन्छन्, ‘छोराछोरीको खुसीका लागि हामी सबै थोक लुकाएर हाँस्छौँ । तर, भित्रभित्रै टुटेका हुन्छौँ। पुरुषले रुनु हुँदैन वा दुःखी हुनु हुँदैन भन्ने सोचले हामीलाई झन् एक्लाएको छ । हामी पनि दुःखी हुन्छौँ, तर मनको कुरा खुलेर भन्न सक्दैनौँ ।’
कुसे औँसीको यो दिन उपहार र ढोग भेटमा मात्र सीमित हुनु हुँदैन । परिवारका बुवा वा पुरुष सदस्यले कस्तो मानसिक दबाब झेलिरहेका छन् भनेर बुझ्ने अवसर पनि बन्नुपर्छ ।
बुवालाई उपहार दिनु राम्रो कुरा हो । तर, कहिलेकाहीँ महँगो उपहारभन्दा ‘बुवा, तपाईंलाई कस्तो छ ?’ भनेर सोधिएको एउटा प्रश्न बढी महत्वपूर्ण हुन सक्छ । उनको कुरा सुन्ने, दुःख बाँड्ने र आवश्यक पर्दा साथ दिने संस्कार पनि उत्तिकै आवश्यक छ । किनकि परिवारलाई सधैँ सम्हाल्ने बुवा पनि थाक्न सक्छन् । उनीहरू पनि दुःखी हुन सक्छन्, रुन सक्छन् र कहिलेकाहीँ आफैँलाई सम्हाल्न अरूको साथ चाहिन सक्छ ।
बुवाको मुख हेर्ने दिनको वास्तविक अर्थ सायद यही हो- बुवाको अनुहार मात्र होइन, उहाँको मन पनि हेर्नु । बाहिर मुस्कुराइरहेका धेरै बुवाको भित्र लुकेको पीडा बुझ्न सक्नु नै उनीहरूप्रतिको सबैभन्दा ठुलो सम्मान हुन सक्छ ।

























