
विराटनगर । मोरङमा ४० वर्षअघिको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा तीनै तहको अदालतले दोषी ठहर गरेका उनीहरु लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए ।
उनीहरुलाई विशेष सूचनाका आधारमा बुधबार राति आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई जिल्ला अदालत मोरङले २०६१ साल जेठ १० गते दोषी ठहर गर्दै कैद सजाय हुने फैसला सुनाएको थियो ।
मुद्दा जिल्लाबाट तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले २०६२ साल चैत ११ गते तल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
पक्राउ परेकामध्ये रामकुमार राईलाई २० वर्ष कैद सजाय हुने फैसला भएको थियो । सोही मुद्दामा बालकुमार राई र बाबुराम राईलाई जनही पाँच वर्ष कैद सजाय तोकिएको थियो । तर, सजाय भुक्तान नगरिकन उनीहरु लामो समयदेखि फरार रहँदै आएको एसपी कटवालले बताए ।
अदालतको फैसलासम्बन्धी अभिलेखअनुसार घटना २०४३ साल असार १५ गते तत्कालीन डाँगीहाट गाविस (गाउँ विकास समिति)–८ र बाहुनी गाविस–१ को सीमास्थित खेतमा भएको थियो । घाँस काटेको विषयलाई लिएर विवाद हुँदा झगडा भएको र सोही क्रममा रामकुमार राईले खुकुरी प्रहार गर्दा आशाराम खवासको घटनास्थलमै मृत्यु भएको अदालतको फैसलामा उल्लेख छ ।
मृतकको टाउकोको देब्रे भागमा धारिलो हतियारले काटिएको चार इन्च लामो चोट देखिएको लासजाँच मुचुल्काबाट खुलेको थियो । पक्राउ परेका तीनै जनालाई अदालतमा बुझाइएको र अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

























