
काठमाडौं । तेस्रो एसीसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको चुनौती प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१३ रन जोडेको हो । नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरेका थिए । उनले १०६ बल खेल्ने क्रममा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन जोडे । यस्तै, गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का हान्दै ५२ रन जोडेका थिए।
त्यसैगरी, पूर्वकप्तान रोहितकुमार पौडेलले ४४ बलमा २ चौकाको मद्दतमा ४० रन जोड्दा अर्का ओपनर अर्जुन कुमालले पनि ६३ बलमा ४३ रनको योगदान दिएका थिए । उनले ६ चौका प्रहार गरे । यसैगरी, दीपेन्द्र सिंह ऐरीले १८ तथा इशान पाण्डेले १३ रनको योगदान गरेका थिए ।
युएईका लागि इबरार अहमदले ४ विकेट हात पारे । यस्तै, खुजैमा बिन तनवीरले पनि २ विकेट लिए । अबको केही बेरमा युएई जबाफी ब्याटिङका लागि मैदानमा उत्रिने छ। प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने मौका पाउने छ ।



















