
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनबारे आफ्नो धारणा तय गर्न सोमबार बिहान बैठक गरिरहेको छ । देउवा निवास चुनदेवीमा भइरहेको बैठकमा आइतबार गगन थापा नेतृत्वको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयबारे छलफल भइरहेको नेता एनपी साउदले जानकारी दिए ।
आइतबारको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयका आधारमा मात्र महाधिवेशनमा सहभागी हुने अवस्था नरहेको साउदले बताए ।
अर्का नेता दीपक खड्काले पनि बैठकले महाधिवेशनमा सहभागी नहुने निर्णय गर्ने बताए । कांग्रेसभित्र गत पुसदेखि नेतृत्व र महाधिवेशनको विषयलाई लिएर विवाद रहँदै आएको छ। देउवा र डा. शेखर कोइराला समूहले नयाँ नेतृत्वको प्रक्रिया र त्यसबाट बनेको केन्द्रीय संरचनाप्रति असहमति जनाउँदै आएका छन् ।
देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने र १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समावेश गर्नुपर्ने माग राखेका थिए। कार्यसम्पादन समितिले ती माग सम्बोधन गरे पनि देउवा र शेखर समूहले असहमति कायमै राखेका छन्। आगामी असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशनमा सहभागी हुने वा नहुनेबारे देउवा समूहले सोमबारको बैठकबाट आफ्नो औपचारिक धारणा तय गर्ने भएको हो।



















