
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका क्षतिग्रस्त सडकहरू आउँदो असोज महिनाभित्रै पुनः सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम अगाडि बढाएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त जानकारी दिएका हुन् ।
छलफलका क्रममा मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणलाई द्रुत गति दिन आठ वटा विषयगत कार्यदल गठन गरी सडक तथा पुल निर्माणको काम भइरहेको बताए । पूर्वाधार पुनर्निर्माणका क्रममा हुन सक्ने दोहोरोपना रोक्न स्थानीय जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताउँदै उनले हाल प्रभावित क्षेत्रमा तत्कालका लागि वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानको काम भइरहेको र अब पक्की सडक तथा पुल निर्माणलाई पनि छिटो सक्ने गरी अघि बढाइने स्पष्ट पारे ।
यसैगरी, मन्त्री लम्सालले काठमाडौंमै रहेर आफ्नो मन्त्रालय मातहतका निकायका प्रमुखहरूसँग समन्वय गरी आ–आफ्नो क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण सङ्कलन गर्न, योजना बनाउन तथा निर्माण कार्यको अनुगमन र नियमनमा सहयोग गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
प्रभावित क्षेत्रमा आगामी मङ्सिरभित्र खानेपानी प्रणालीको पूर्ण पुनः स्थापना गरिने प्रतिबद्धता जनाउँदै मन्त्री लम्सालले स्वास्थ्य र शिक्षा लगायतका अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणमा समेत सरकार निरन्तर लागिपरेको बताए ।

























