कोशी कटानले जमिन गुमाएका महतो तरकारी खेतीमा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०९:५३

सुनसरी । वराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए। विदेशमा श्रम र पसिना बगाउँदा पनि अपेक्षित आम्दानी गर्न नसकेपछि उनी आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि कर्ममा लागे।

उनले आफ्नै चार बिघा जमिनमा तरकारी, धान र मकै खेती गर्दै आएका थिए। तर सप्तकोशीको कटानले खेतीयोग्य जमिन बगाएपछि अहिले उनी अरूको जमिन भाडामा लिएर खेती गरिरहेका छन्। जमिन गुमे पनि कृषि पेसाबाटै आम्दानी र सन्तुष्टि मिलिरहेको उनी बताउँछन्।

Advertisement

महतोले अहिले करिब १० कट्ठा जमिन भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिण्डीलगायत मौसमी तरकारी लगाएका छन्। त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट गोलभेँडा खेती गरेका छन्। ‘पहिला करिब चार बिघा जग्गा थियो। सबै सप्तकोशीले कटान गरेर लग्यो। अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु,’ उनले भने, ‘खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्छिन्। मुख्य सिजनमा आवश्यक परे मजदुर लगाउँछु।’

बीउ, मल, औषधि र मजदुरीमा वार्षिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए। खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। यही आम्दानीबाट घरखर्चसँगै तीन छोराछोरीको पढाइ र अन्य आवश्यकता पूरा गर्दै आएका छन्। उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन। धनकुटा, धरान, उदयपुर, इनरुवालगायत ठाउँका व्यापारी खेतमै आएर गोलभेँडा र अन्य तरकारी खरिद गर्ने गरेका छन्।

अन्य तरकारीको तुलनामा गोलभेँडाबाट राम्रो आम्दानी हुने भएकाले महतोले त्यसलाई प्राथमिकता दिएका छन्। सिजनअनुसार मूल्य फरक पर्ने भए पनि खेतबाटै प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुने गोलभेँडा कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाउँदा ८० देखि ८५ रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए।

‘पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि पाल्थ्यौँ। कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि चरनस्थल पनि रहेन। अहिले गाईभैँसी पाल्न छाडेका छौँ,’ उनले भने, ‘तरकारीसँगै धान र मकै खेती गरेर जीविकोपार्जन गरिरहेको छु।’

तर कृषि पेसा सहज छैन। सप्तकोसीको कटान बर्सेनि बढ्दै जाँदा अहिले बसिरहेको सानो बास र टिनले बारेर बनाएको कटेरोसमेत कुन दिन बगाउने हो भन्ने चिन्ता महतोलाई छ। ‘आफ्नै जग्गा भएको भए तरकारी खेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो। अहिले खेती गर्न पनि आफ्नो जमिन छैन,’ उनले दुःखेसो गरे।

श्रीलङ्का टप्पुका बासिन्दाले बर्खायाममा बाढी र कटानको त्रास बर्सेनि भोग्दै आएका छन्। खेतीयोग्य जमिन साँघुरिँदै जानु, घरनजिकै नदी आइपुग्नु र जोखिम बढेपछि बस्ती नै छाड्नुपर्ने अवस्था यहाँका बासिन्दाका लागि हरेक वर्षको चिन्ता बनेको छ।

करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुका अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ। धान, मकै, गोलभेँडा तथा अन्य तरकारी खेतीसँगै पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका मुख्य आधार हुन्। तर बर्सेनि हुने नदी कटानले जमिन घटाउँदै लगेपछि स्थानीयको जीविकोपार्जनसमेत थप जोखिममा पर्दै गएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×