
काठमाडौं । प्रहरीले अवैध विद्युतीय चुरोट (भेप) सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङगलका २७ वर्षीय शुभम् गुप्ता, रामेछाप घर भई काठमाडौं महानगरपालिका–३ बस्ने १९ वर्षीय राजन मोक्तान र काभ्रे पाँचखाल–९ घर भई ललितपुरको च्यासल बस्ने १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा भेप भण्डारण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान भेप बरामद गरेको जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

























