सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १०:५२

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन्।

केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ। गाउँका धेरै किसानले आफ्नो खाली तथा कम उपयोगमा आएका जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्दै सुन्तला बगैँचा विस्तार गरेका छन्।

Advertisement

स्थानीय किसान सुन्तला खेतीप्रति उत्साहित देखिएका छन्। कृषक चण्डालकुमार राईले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने बताउन। ‘सुन्तला खेतीसँगै बिरुवा उत्पादन गरेर बिक्री गर्दा थप आम्दानी लिन सकिएको छ’, उनले भने, ‘यसले घर खर्च चलाउनसँगै बचत गर्नसमेत सहयोग पुगेको छ। पछिल्लो समयमा खावा केराबारीका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन्।’

खावा केराबारीको हावापानी, माटोको बनावट र उचाइ सुन्तलाखेतीका लागि अत्यन्त अनुकूल मानिन्छ। यहाँ उत्पादन हुने सुन्तलाको स्वाद, गुणस्तर र आकार राम्रो हुने भएकाले बजारमा यसको माग उच्च रहेको स्थानीय किसान देउराम राईले बताए। यदि व्यवस्थित रूपमा खेती विस्तार गर्न सकिएमा खावा क्षेत्र जिल्लाकै प्रमुख सुन्तला उत्पादन केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

वडाध्यक्ष सुनिल राईले कृषि क्षेत्रको विकास गर्दै किसानको जीवनस्तर उकास्ने उद्देश्यले वडाले सुन्तलाखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको बताए। ‘हामीले किसानलाई प्राविधिक सहयोगसँगै गुणस्तरीय बिरुवा वितरण गर्दै आएका छौँ’, वडाध्यक्ष राईले भने, ‘यस कार्यक्रमले आगामी वर्षमा उत्पादन वृद्धि हुनुका साथै किसानको आम्दानीमा सुधार ल्याउने विश्वास गरेका छौँ।’

वडाले कृषि प्राविधिकमार्फत बगैँचा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, मल व्यवस्थापन तथा आधुनिक खेती प्रविधिबारे नियमित रूपमा सहजीकरण गर्दै आएको उनले बताए। व्यावसायिक सुन्तलाखेतीको विस्तारसँगै खावालाई सुन्तला उत्पादनको ‘हब’ का रूपमा विकास गर्ने लक्ष्य रहेको वडाले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×