
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक राजनीतिक विषय तथा विपद् व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले भदौ १० गतेको विपत्तिपछि परिस्थिति बदलिएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको स्वरूप परिवर्तन गरी तत्काल सञ्चालन गर्नुपर्ने बताए । सभामुख यस विषयमा सकारात्मक रहेको उनले जानकारी दिए ।
आङ्देम्बेले विपद्पछिको राहत, उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा पनि जोड दिए । महिला, बालबालिका तथा सुत्केरीको अवस्था र सुरक्षित बस्ती निर्माणमा समेत समितिले समन्वय गर्नुपर्ने उनको भनाइ थियो ।
उनले समिति सरकारको विरोधका लागि नभई राहत तथा सहयोग पारदर्शी बनाउन र राज्यको पहुँच नपुगेका स्थानमा समन्वय गर्न आवश्यक रहेको स्पष्ट पारे ।
भेटमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्र संघीय महासभा भ्रमणबारे पनि छलफल भएको थियो । आङ्देम्बेले भ्रमणअघि प्रधानमन्त्रीले सर्वदलीय संयन्त्रको बैठक बोलाएर सुझाव लिनुपर्ने बताए ।
यसैगरी, उनले कांग्रेसको १५ औँ महाधिवेशनको कार्य तालिकाबारे पनि सभामुखलाई जानकारी गराएका थिए । संसदीय समिति गठनको मागमा सबै प्रतिपक्षी दल एकमत रहेको भन्दै उनले विपद्को अवस्थामा पक्ष–प्रतिपक्ष नभनी सबै दल सरकारको साथमा रहेको बताए ।

























