जलवायु संकटमा विश्वको साथ खोज्दै प्रधानमन्त्री शाह

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १४:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेका समस्या, क्षति र समाधानका उपायलगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा पारिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमाल फुट्ने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्या हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नु परिरहेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ । जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि तथा जैविक विविधतामा समेत असर पर्न थालेको सन्देशमा जनाइएको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुई दिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन्। सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ ।

हिमपहिरोका कारण भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट अपूरणीय जनधन तथा भौतिक सम्पत्तिको क्षति भएको र संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा आयोजना गरिएको यस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×