
सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनलाई हृदयाघात भएको थियो।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाही नेपाली कांग्रेसका पुराना नेता थिए। २००६ सालमा जन्मिएका उनले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए।
२०३६ सालको जनमतसंग्रहका बेला निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा शाहीले अग्रणी भूमिका खेलेका थिए। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत राजनीति गरेका उनी विभिन्न समयमा गरी नौ पटक गिरफ्तार परेका थिए। २०४६ सालको जनआन्दोलनका क्रममा उनी ५१ दिन हिरासतमा बसेका थिए।
शाही २०४९ सालमा जिल्ला विकास समिति दैलेखको सभापति बनेका थिए। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए।
२०७४ सालमा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य बनेका शाही प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत भएका थिए। उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक पनि बनेका थिए। प्रदेशसभाको पाँचवर्षे कार्यकाल पूरा गरेपछि शाही सक्रिय राजनीतिबाट टाढा रही आफ्नै गाउँमा बस्दै आएका थिए।


















