
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीलाई लिएर दुई धारबीच विवाद चर्किरहेका बेला देउवा पक्षमा रहेका नेताहरू सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सहभागी हुने क्रम बढेको छ ।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका र पछिल्लो समय देउवा पक्षसँग असन्तुष्ट रहेका ३० भन्दा बढी नेता गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने तयारीमा रहेको बताइएको छ । थप केही नेतासमेत सम्पर्कमा रहेको नेताहरूले बताएका छन् ।
पार्टीभित्र एकता कायम गर्नुपर्ने भन्दै देउवा पक्षका नेताहरूले संयुक्त धारणा सार्वजनिक गरेपछि उनीहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने प्रक्रिया अघि बढेको हो । थापा नेतृत्वको पक्षले १४औँ महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा सहभागी गराउने निर्णय गरेपछि देउवा पक्षका असन्तुष्ट नेताहरू सानेपा फर्किने वातावरण बनेको हो ।
मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, श्याम घिमिरे, महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, ईश्वरी न्यौपाने, सीता गुरुङ र सुशीला थिङलगायत नेताहरू गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने पक्षमा देखिएका छन् ।
यसैबीच, देउवा पक्षले भने आफ्नै कार्यतालिकाअनुसार १५औँ महाधिवेशन अघि बढाउने तयारी गरिरहेको छ । महाधिवेशनको मिति, प्रक्रिया र वैधानिकतालाई लिएर दुवै पक्षबीच मतभेद कायमै छ ।
विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा सदस्यका रूपमा सहभागी गराउने निर्णय थापा नेतृत्वको कार्यसम्पादन समितिले यसअघि नै गरेको थियो । सोही निर्णयका आधारमा थापाले पुरानो कार्यसमितिका सदस्यहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।
देउवा पक्षबाट अलग हुँदै गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने नेताहरूको संख्या बढ्दै गएपछि कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा समेत फेरबदल देखिन थालेको छ ।

























