
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरेको छ । वडा अधिवेशन आज (शनिबार) र भोलि (आइतबार) हुँदैछ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गते हुँदैछ। महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै वडा तहको निर्वाचनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर काम सुरु गरिसकेको जानकारी दिएका छन्। जिल्ला निर्वाचन अधिकृतहरूले स्थानीय तथा जिल्ला तहका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरेको विज्ञप्तिमा उल्लेख छ।
समितिले अफवाह र भ्रामक सूचनामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।



















