कांग्रेस नेता खड्का पार्टी महाधिवेशनमा सहभागी नहुने

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १०:४५

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफूलाई लिएर भइरहेका टिप्पणीको खण्डन गर्दै खड्काले महाधिवेशनमा सहभागी नहुनुको कारणसमेत सार्वजनिक गरेका छन्।

Advertisement

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराउँदै उनले त्यही कारण गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशनमा सहभागी हुनु आफ्नो नैतिक मूल्य र मान्यताविपरीत हुने बताएका छन्।

खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको आफूहरूको दाबी रहेको उल्लेख गरेका छन्।

‘यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो,’ उनले भनेका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा पनि यही कारण आफू उम्मेदवार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि त्यस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको बताएका छन्।

सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयविरुद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर पुनरावलोकनको निस्सा दिएको उनले बताएका छन्। तर, महाधिवेशन रोक्न आवश्यक नदेखिएको पछिल्लो आदेशले आफूलाई दुःखी बनाएको उनको भनाइ छ।

‘सर्वोच्चबाट पुनरावलोकनको निस्सा दिइएको अवस्थामा पनि महाधिवेशन रोक्न आवश्यक नदेखिनुले नेपाली कांग्रेस दुईवटा महाधिवेशन हुने र विभाजनको डिलमा पुग्ने स्थिति सिर्जना भएको छ,’ खड्काले लेखेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×