विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १२:२६

विराटनगर । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दाहाललाई आइतबार बिहान पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले साइबर ब्युरोको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको कटवालले बताए ।

Advertisement

दाहाललाई पक्राउ गरेपछि आवश्यक अनुसन्धानका लागि आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको जानकारी उनले दिए । ‘जहाजमार्फत दिउँसो २ बजे काठमाडौं पठाउने तयारी छ,’ उनले भने । कटवालका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन ।

दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वतर्फ आएका थिए । शनिबारको छलफल सकेर आइतबार काठमाडौं फर्किने तयारीमा थिए । तर, सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलमा रहेका बेला बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय दाहालले सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सार्वजनिक रूपमा आफ्ना धारणा राख्दै आएका थिए । विशेषगरी बालेन्द्र (बालेन) शाह सरकारका विषयमा उनले आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए ।

दाहालका सहकर्मीहरूले भने उनको पक्राउलाई राजनीतिक विचार तथा सत्ता र शासन व्यवस्थामाथि प्रश्न उठाउँदै आएको आवाजमाथिको धरपकडका रूपमा व्याख्या गरेका छन् । उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोपसमेत लगाए ।

दाहालसम्बद्ध पक्षले वर्तमान सरकारका कदमप्रति प्रश्न उठाउँदै राजनीतिक विचार व्यक्त गर्ने नागरिकमाथि दमन गरिएको दाबी गरेको छ । तर, प्रहरीले भने उनलाई कुन अभिव्यक्ति वा कसुरसँग सम्बन्धित उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार काठमाडौं पठाएपछि साइबर ब्युरोले उनीमाथिको अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । थप विषय अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×