
काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज (सोमबार) कोशीसहित चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ । ती क्षेत्रमा गेग्रानसहितको बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हाल कोशी र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने मधेशमा आंशिक बदली रहेको छ । कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी, मधेश र बागमतीका तराई क्षेत्रका केही स्थानमा समेत वर्षाको सम्भावना छ । राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ ।
यसैबीच, उत्तर अन्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम महाशाखाको पूर्वानुमान छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात, पर्यटन, स्वास्थ्य तथा उद्धार र राहतका काममा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना हेर्न महाशाखाले आग्रह गरेको छ ।



















